असमान तलब अब सह्य छैन: हरिवनमा शिक्षक संगठनको आक्रोशपूर्ण ज्ञापन

Share
Rate this News

सर्लाही,हरिवन

प्रेमनाथ पौडेल | Super Media Nepal

एकीकृत अखिल नेपाल शिक्षक संगठन, हरिवन नगर समिति सर्लाहीले हरिवन नगरपालिकाका नगर प्रमुख समक्ष शिक्षासम्बन्धी विविध माग राख्दै औपचारिक ज्ञापनपत्र बुझाएको छ।

नगर प्रमुख कमल बुढाथोकी (रमेश), शिक्षा उपसचिव हरिप्रसाद दाहाल र शिक्षा अधिकृत रुपेश चोलागाईंलाई संयुक्त रूपमा सो ज्ञापनपत्र हस्तान्तरण गरिएको हो। संगठनका अध्यक्ष राम विश्वास कुशवाहाको नेतृत्वमा गएको शिक्षक टोलीले औपचारिक कार्यक्रमबीच ज्ञापनपत्र बुझाएको हो। अध्यक्ष कुशवाहाले ज्ञापनपत्र वाचन गर्दै औपचारिक रूपमा हस्तान्तरण गरेका थिए।

कार्यक्रममा मधेस प्रदेश समिति सचिव श्रीकुमार स्याङतन, वरिष्ठ शिक्षक नेता हरिप्रसाद सापकोटा, शिक्षक नेता कामेश्वर राय, बाल विकास नेत्री डिना श्रेष्ठलगायत थुप्रै बालविकास सहजकर्ता तथा पीडित शिक्षकहरूको उल्लेखनीय उपस्थिति थियो।

शिक्षक संगठनको गत असार २१ गते सम्पन्न बैठकले पारित गरेको प्रस्ताव नं. ३ अनुसार, कार्यालय सहयोगी, बाल विकास सहजकर्ता तथा विद्यालय कर्मचारीका लागि मासिक रु. २८,००० (अठाइस हजार) को न्यूनतम तलब सुनिश्चित गर्न नगरपालिकाको आन्तरिक स्रोतबाट थप रकम उपलब्ध गराउने माग गरिएको हो। संघीय सरकारले तोकेको न्यूनतम तलब अपर्याप्त भएको भन्दै सो वर्गका कर्मचारीहरूको जीवनस्तर उकास्न थप तलबको व्यवस्था गर्न आग्रह गरिएको छ।

ज्ञापनपत्रमा उल्लेख भएअनुसार, आर्थिक रूपले कमजोर वर्गमा पर्ने कर्मचारीहरूको सम्मानजनक जीवनस्तर सुनिश्चित गर्न स्थानीय सरकारको तर्फबाट तत्काल पहल आवश्यक रहेको उल्लेख गरिएको छ।

नगर प्रमुख बुढाथोकीले ज्ञापनपत्रप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै सो विषयमा नगर परिषद्‌मा आवश्यक छलफल गरिने र सम्भव पहल गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *