
घनश्याम बलम्पाकी, सर्लाही सर्लाही जिल्लाका व्यवसायिक आँप किसानहरू यतिबेला आँपको बतिला झर्ने समस्याले चिन्तित छन्। जिल्लाको प्रमुख आँप उत्पादक क्षेत्र हरिवन नगरपालिकामा सिंचाइको अभाव, मौसमको अनिश्चितता र प्राविधिक ज्ञानको कमीका कारण सयौं हेक्टरमा लगाइएको आँप खेती जोखिममा परेको छ। हरिवन १, २, ३ र ४ नम्बर वडाका साथै साविक अत्रौली र सासापुर गाविसका किसान व्यवसायिक रूपमा आँप खेती गर्दै आएका छन्। तीमध्ये हरिवन–२ अत्रौलीका किसान लक्ष्मीप्रसाद मैनालीले ३ बिगाह जमिनमा आँप खेती गर्दै आएका छन्। पर्याप्त सिंचाइको अभावले उत्पादनमा असर परेको उनी बताउँछन्। “यसपालि वर्षा नहुँदा साना साना बतिला झर्ने क्रम बढेको छ,” मैनालीले भने, “भिटामिन र विषादीको आवश्यकता छ, तर प्राविधिक ज्ञान बिना खेती गर्नुपर्दा समस्या झन् जटिल भएको छ।”

हरिवन–३ का अर्का किसान विनोद लोप्चनका अनुसार अधिकांश किसानले प्राविधिक सल्लाह नलिई पसलको सल्लाहअनुसार विषादी प्रयोग गर्छन्। “यो कारणले फल झर्ने, डढ्ने जस्ता समस्या पनि देखिन्छ,” उनले भने। कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव कुशवाहाका अनुसार सिंचाइको अभाव, असन्तुलित तापक्रम र कीराको प्रकोपका कारण बतिला झर्ने समस्या देखिएको हो। “समस्या समाधानका लागि पर्याप्त सिंचाइ, अनुकूल तापक्रम र समय समयमा कीरा नियन्त्रणका लागि विषादी छर्नुपर्छ,” कुशवाहाले सुझाव दिए। उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सर्लाहीमा करिब ५० प्रतिशत मात्रै आँप उत्पादन हुने अनुमान गरिएको छ।
स्थानीय सरकार समस्याप्रति गम्भीर देखिएको छ। हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी ‘कमलं’का अनुसार व्यवसायिक आँप किसानका लागि विषादी छर्ने उपकरण, आँप टिप्ने मेशिनलगायतका सामग्री वितरण गरिएको छ। “डिप बोरिङमार्फत सिंचाइ सुविधा पुर्याउने कार्य पनि अघि बढाइएको छ,” उनले बताए। साथै, किसानहरूलाई प्राविधिक तालिम दिने र उत्पादनको ग्रेडिङसमेत सुरु गर्ने तयारी रहेको जानकारी उनले दिए। किसानहरूले तत्काल समस्या समाधानसँगै दीर्घकालीन कृषि नीतिको माग गरिरहेका छन्। उनीहरूको भनाइ छ— यदि सरकारी सहयोग र वैज्ञानिक तरिकाबाट खेती गर्न सक्ने वातावरण बनेमा सर्लाहीको आँपले राष्ट्रियस्तरमै पहिचान बनाउन सक्छ।