आन्दोलनको नाममा सम्पत्ति विनाश : अस्वीकार्य अपराध

Share
Rate this News

उमेश बि सी ‘अल्पविराम’ | Super Media Nepal

“भात खाने थाल फुटाएपछि हातमै थापेर खानुपर्छ” भन्ने हाम्रो पुर्खाले छोडेको भनाइ आजको परिस्थितिमा अत्यन्तै प्रासंगिक देखिएको छ। हालैको Zen-Z आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति, ऐतिहासिक धरोहर र पुरातात्विक सम्पदामा गरिएको आक्रमण केवल आवेगको परिणाम मात्र नभई राष्ट्रलाई नै खोक्रो बनाउने खालको गैरजिम्मेवार क्रियाकलाप हो।

आन्दोलन गर्नु, असन्तोष प्रकट गर्नु, सडकमा उत्रनु – यी सबै लोकतान्त्रिक अधिकार हुन्। तर आन्दोलनको नाममा देशका धरोहर नष्ट गर्नु, पुस्तौँ पुस्ताले जोगाएर ल्याएको सम्पत्ति ध्वस्त गर्नु भनेको आफ्नो भविष्य आफैं जलाउनु हो। जनताको आक्रोशलाई बुझ्न सकिन्छ, तर सम्पत्ति विनाशलाई कसैले पनि जायज ठहर्याउन सक्दैन।

नेपाल पहिले नै असफल नेतृत्व, राजनीतिक अस्थिरता र संक्रमणकालीन अवस्थाबाट थिचिएको मुलुक हो। यस्तो अवस्थामा ऐतिहासिक सम्पदा र सार्वजनिक संरचना तोडफोड गर्नु भनेको घाउमा नुन छर्किनुजस्तै हो। यी सम्पत्तिहरू केवल ईटा–ढुङ्गा होइनन्, ती हाम्रो पहिचान, संस्कार र इतिहासका प्रतिमूर्ति हुन्। तिनको विनाशले पुस्तौँसम्म पोल्ने घाउ दिन्छ।

यस घटनाले दुईवटा प्रश्नलाई सतहमा ल्याएको छ – पहिलो, आन्दोलनलाई व्यवस्थापन गर्न असफल भएको राज्य र नेतृत्वको कमजोरी। दोस्रो, आन्दोलनलाई विनाशकारी रूप दिने चरम गैरजिम्मेवारी। आन्दोलनकारीहरूका माग वैध हुन सक्छन्, तर माग प्रस्तुत गर्ने तरिका हिंसात्मक र विनाशकारी हुनु भनेको नैतिक र कानुनी दुवै दृष्टिले अस्वीकार्य हो।

राज्यले यस्तो अराजकतामाथि कडाइपूर्वक कारबाही गर्नुपर्छ। नत्र, ‘आन्दोलन’ को नाममा सम्पत्ति विनाश सामान्य अभ्यास बन्नेछ र यसले भविष्यमा अझ ठूलो विनाश निम्त्याउनेछ। जनताको आक्रोशलाई समाधान गर्न संवाद र सहमतिको बाटो रोजिनुपर्छ, तर सम्पत्ति र धरोहरको सुरक्षामा भने कुनै सम्झौता हुनै सक्दैन।

अन्ततः, आन्दोलनले परिवर्तन ल्याउन सक्छ तर सम्पत्ति विनाशले केवल विनाश ल्याउँछ। नेतृत्वले आफ्नो होडबाजी रोकेर राष्ट्रलाई आशातर्फ लैजानु पर्ने आवश्यकता छ। नत्र, आन्दोलनकारीको गैरजिम्मेवारी र नेताहरूको होडबाजी मिलेर देशलाई अझ गहिरो निराशा र खोक्रोपन तर्फ धकेल्नेछ। यसरी निरन्तर कमजोर बनाइने हो भने अर्को देशले सजिलै कब्जा गर्न सक्ने खतरा नकार्न सकिँदैन। त्यसैले अब ढिलो नगरी राष्ट्रलाई दिशा देखाउने, जिम्मेवार नेतृत्व प्रदान गर्ने व्यक्तिको खोजी र खाँचो आजको अपरिहार्य आवश्यकता बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *