
हरिवन, सर्लाही – साउन २०
Super Media Nepal, प्रेमनाथ पौडेल
उखु किसानहरूले सरकारले दिन बाँकी रहेको अनुदान तत्काल भुक्तानी गर्नुपर्ने माग गर्दै आज सर्लाहीको हरिवनमा मसाल जुलुससहित सशक्त विरोध प्रदर्शन गरेका छन्।
केन्द्रीय उखु किसान संघर्ष समितिको आह्वानमा आयोजना गरिएको विरोध कार्यक्रममा किसानहरूले “आधा अनुदान रकम (रु. ३५) चाहिँदैन, किसान मर्न पाइँदैन” भन्ने नारा लगाउँदै सरकार र चिनी मिल सञ्चालकहरूप्रति आक्रोश व्यक्त गरे।

प्रदर्शनमा किसानहरूले केहीबेर पूर्व–पश्चिम लोकमार्ग समेत अवरुद्ध गर्दै जुलुस निकालेका थिए। उनीहरूले सिजन २०७८/०७९ देखि बाँकी रहेको प्रति क्विन्टल ७० रुपैयाँका दरले भुक्तानी हुनुपर्ने १ अर्ब ५० करोड रुपैयाँ बराबरको अनुदान तुरुन्त उपलब्ध गराउन माग गरे।

नेताहरूको उपस्थिति र समर्थन
हरिवनमा सम्पन्न प्रदर्शनको नेतृत्व केन्द्रीय संघर्ष समितिका उपाध्यक्ष राजकुमार उप्रेतीले गरेका थिए। कार्यक्रममा पूर्व प्रदेश सांसद डिल्लीप्रसाद उप्रेती, हरिवन वडा नं. ११ का अध्यक्ष शेख मेहबुब रेजा, वडा सदस्य युगबहादुर अधिकारी, अन्य स्थानीय जनप्रतिनिधि तथा जिल्लास्तरका अग्रज किसानहरूको उल्लेख्य उपस्थिति थियो।
प्रधानमन्त्रीलाई ज्ञापनपत्र
नेपाल उखु उत्पादक महासंघ अन्तर्गत सर्लाहीको केन्द्रीय संघर्ष समितिले हालै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ।
समितिका अनुसार यदि सरकारले समयमै किसानहरूको माग सम्बोधन नगरेमा, आगामी भदौ ८ गतेदेखि माईतीघर मण्डलामा देशभरिका किसानहरूले संयुक्त आन्दोलन सुरु गर्ने चेतावनी दिइएको छ।
किसानहरूको मुख्य मागहरुः
- सिजन २०७८/०७९ को बाँकी १ अर्ब ५० करोड रुपैयाँ तुरुन्त भुक्तानी
- प्रतिवर्षको आधारमा प्रति क्विन्टल रु. ७० को दरले सम्पूर्ण अनुदान उपलब्ध गराउने व्यवस्था
- उखुको मूल्य निर्धारण गर्दा किसान प्रतिनिधि, सरकारी निकाय र चिनी उद्योगीबीच त्रिपक्षीय वार्ता अनिवार्य गर्ने व्यवस्था
“सम्पूर्ण उखु किसान एक हौं, हाम्रो हकका लागि संगठित रूपमा अघि बढौं” भन्ने मूल नारासहित उखु किसानहरूले आन्दोलनलाई अझ सशक्त बनाउँदै लगेका छन्।