उज्यालो युगका नायक कुलमान घिसिङलाई हरिवनमा भव्य नागरिक सम्मान गरिने

Share
Rate this News

सर्लाही, हरिवन — देशलाई लोडसेडिङ मुक्त गराउँदै ‘उज्यालो नेपाल’को सपना साकार पार्न अहम् भूमिका निर्वाह गरेका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक इन्जिनियर कुलमान घिसिङलाई सर्लाहीको हरिवनमा भव्य नागरिक सम्मान प्रदान गरिने भएको छ।

यसै सन्दर्भमा जेठ २८ गते बुधबार, हरिवन नगरपालिका -११ स्थित सरस्वती पार्टी प्यालेसमा नागरिक तहबाट आयोजित एक विशेष समारोहका बीच घिसिङलाई सम्मान गरिने नागरिक अभिनन्दन मूल आयोजक समितिले जानकारी दिएको छ।

मुख्य आयोजक समितिका संयोजक धन बहादुर मिक्चनका अनुसार, कार्यक्रममा कुनै पनि राजनीतिक पक्षपात नरहेको र सम्पूर्ण नागरिक तहको सहभागितामा स्वतःस्फूर्त रूपमा आयोजना गर्न लागिएको हो।

उनले सोमबार पत्रकार सम्मेलनमार्फत भने,

“नेपाल विद्युत प्राधिकरणमा घिसिङको कार्यकालकै कारण हामीले लोडसेडिङमुक्त जीवनको अनुभव गरेका छौँ। यस्तो योगदानलाई अब राज्यभन्दा पहिला नागरिकले नै कदर गर्न जरुरी छ।”

हरिवन बजारबाट पदयात्रासहित स्वागत

कार्यक्रम बिहान ११ बजे समय तय गरिएको छ, जसअनुसार हरिवन बजार चोकबाट बिशेष पदयात्रा गरी कुलमान घिसिङलाई नागरिक समूहले स्वागत गर्दै समारोह स्थलमा ल्याइने आयोजक समितिले जनाएको छ।

यस भव्य अभिनन्दन कार्यक्रममा स्थानीय उद्योगी–व्यवसायी, नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा महिलाहरूको उत्साहजनक सहभागिता रहने आयोजकको भनाइ छ।

इन्जिनियर घिसिङको कार्यकालमा नेपाल विद्युत प्राधिकरणले ऐतिहासिक सुधार गर्दै १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको थियो। तर, ती उपलब्धिलाई बेवास्ता गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकाल समाप्त हुनु ४ महिना अगावै उनलाई पदबाट बर्खास्त गरेको थियो।

तर, जनस्तरमा उनको योगदानको सम्मान अझै उच्च छ। यही भावनाको प्रतीकस्वरूप हरिवनमा हुन लागेको यो सम्मान कार्यक्रमले नागरिक कृतज्ञताको बलियो सन्देश दिने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *