
काठमाडौँ, वैशाख ९
शिक्षकहरूको जारी आन्दोलनका कारण कक्षा १२ को राष्ट्रिय परीक्षा सारिएको छ। राष्ट्रिय परीक्षा बोर्डले यसअघि वैशाख ११ गतेका लागि तय गरिएको परीक्षा अब वैशाख २१ गतेदेखि सुरु हुने गरी सार्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस विषयमा शिक्षा सचिव दीपक काफ्ले र अध्यक्ष शर्मासँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्री ओलीले परिस्थिति हेरी परीक्षा सार्न सकिने अवस्था भएमा सार्न सुझाव दिएका थिए।
बोर्डले यसअघि आज बिहान बसेको बैठकमा परीक्षा निर्धारित मितिमै संचालन गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गराउने तयारीमा रहेको बोर्डलाई शिक्षक तथा कर्मचारी ट्रेड युनियनहरूको कडा विरोधको सामना गर्नु परेको थियो।
शिक्षकहरूले बोर्डको निर्णयको विरोध गर्ने चेतावनी दिएका थिए भने ट्रेड युनियनहरूले कर्मचारी परिचालनमा असहयोग गर्ने स्पष्ट पारिसकेका थिए। त्यसपछि प्रधानमन्त्रीको पहलमा फेरि छलफल भएको र परीक्षा सार्ने निर्णय गरिएको हो।
बोर्डका अध्यक्ष शर्माका अनुसार अब भोलि (वैशाख १०) मा परीक्षा सारिएको सूचना र नयाँ परीक्षा तालिका सार्वजनिक गरिनेछ।
शिक्षक आन्दोलनको समाधान नभएसम्म परीक्षा प्रभावित हुनसक्ने अनुमान गरिएको छ।