
सर्लाही, बागमती Super Media Nepal
बागमती नगरपालिकाले स्थानीय व्यापारीलाई कर तिर्न बाध्य बनाएपछि व्यवसायीहरू आक्रोशित बनेका छन्। उद्योग वाणिज्य संघसँग सहकार्य नगरी एकलौटी निर्णय गरेको भन्दै उद्योग वाणिज्य संघ बागमतीका महासचिव अक्षयलाल साहले आपत्ति जनाएका छन्।
स्थानीय व्यापारीहरूले भने “कर तिर्न हामी सहमत छौं, तर हदभन्दा बढी कर तिराउन खोजिएको छ” भन्दै नगरपालिकाको निर्णयप्रति आक्रोश प्रकट गरेका छन्।


व्यापारीहरूले नगरपालिकाको यो कदमलाई अन्यायपूर्ण र एकतर्फी निर्णय भन्दै चर्को आलोचना गरेका छन्। उनीहरूले करको दर उचित नबनाई जबरजस्ती बढी कर तिराउन खोजिएको आरोप लगाएका छन्।
यसैबीच, नगरपालिकाको निर्णयविरुद्ध आजै (भदौ १३) बिहान ११ बजे व्यापारीहरूको विशेष छलफल कार्यक्रम आयोजना गरिएको छ।
व्यापारीहरूले “संवाद र सहकार्य नगरी कर थोपर्नु स्वीकार्य छैन” भन्दै नगरपालिकालाई निर्णय फिर्ता लिन चेतावनीसमेत दिएका छन्।
नगरपालिकातर्फबाट भने प्रमुख प्रशासकीय अधिकृत प्रतित भण्डारीले “आपसी छलफलपछि मात्र अन्तिम निर्णय गरिने” जानकारी दिएका छन् ।