कुपोषण भएका बालबालिकाहरुको पहिचान तथा परामर्श शिविर महोतरीमा सम्पन्न

Share
Rate this News

बर्दिबास, महोत्तरी
प्रेमनाथ पौडेल

महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा कुपोषित बालबालिकाको पहिचान तथा परामर्श दिने उद्देश्यले कडा शिघ्र कुपोषण पहिचान तथा परामर्श शिविर सम्पन्न भएको छ।
मधेश प्रदेश सरकारको कुपोषण न्यूनीकरण गर्ने लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा मध्यम तथा कडा शिघ्र कुपोषण भएका ७० जना बालबालिकाको सहभागिता रहेको थियो।

शिविरमा आएका कुपोषित बालबालिकाका आमाहरूलाई पोषण पुनःस्थापना केन्द्र, जनकपुरका व्यवस्थापक किरण यादवको टोलीले परामर्श सेवा प्रदान गर्यो। पौष्टिक खाद्य पदार्थको अभाव तथा पोषणसम्बन्धी जानकारीको कमीका कारण कुपोषण हुने कुरामा यादवले प्रकाश पार्नुभयो।

“जन्मनासाथ बिगौती दूध खुवाउने, ६ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान गराउने र त्यसपछि पूरक खाना खुवाउनाले कुपोषणको सम्भावना कम हुन्छ। साथै, हरेक महिना स्वास्थ्य संस्थामा गएर शिशुको तौल तथा पाखुराको गोलाइ नापी वृद्धि अनुगमन गर्नुपर्छ,” यादवले बताउनुभयो। उहाँले घर तथा स्थानीय स्तरमा उपलब्ध पौष्टिक आहार खुवाएर कुपोषणबाट बच्न सकिने सुझाव दिनुभयो।

सम्सी प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न उक्त शिविरमा सहभागी बालबालिकाका आमाहरुलाई स्वास्थ्य तथा सरसफाइ, शिशु हेरचाहसम्बन्धी परामर्श दिइयो। साथै, कडा शिघ्र कुपोषण भएका बालबालिकाहरूलाई खानको लागि तयार उपचारात्मक खाना (RUTF) समेत वितरण गरियो।

उक्त शिविर सम्सी गाउँपालिकाको आयोजनामा, पोषण पुनःस्थापना केन्द्र, जनकपुरको प्राविधिक सहयोग तथा वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र एकीकृत ग्रामीण विकास समाज, महोत्तरीको सहकार्यमा सम्पन्न भएको थियो।शिविरमा पहिचान भएका मध्यम तथा कडा कुपोषित बालबालिकाहरूलाई थप सेवा लिनका लागि स्थानीय स्वास्थ्य संस्था तथा पोषण पुनःस्थापना केन्द्रमा जान प्रेरित गरिएको पोषण अधिकृत भूपेन्द्र निरौलाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *