चुरेमा जीवन बचाउन बागमती सेवा समाज अग्रसर: सुरक्षित पानीका सामग्री वितरण

Share
Rate this News

प्रेमनाथ पौडेल, सर्लाही | Super Media Nepal

श्रावण -१७ , हरिवन-सर्लाही

सर्लाही जिल्लाको हरिवन नगरपालिका–१ स्थित चुरे क्षेत्रको थामी टोलका बासिन्दाले अब खानेपानी सुरक्षित रूपमा संकलन गर्न पाउने भएका छन्। लामो समयदेखि खानेपानीको चरम अभाव भोगिरहेका ३० घरधुरीलाई लक्षित गर्दै बागमती सेवा समाजले १०० लिटरको पानी राख्ने ड्रम, २० लिटरको ग्यालेन, र पानी शुद्धिकरण ट्याब्लेट वितरण गरेको हो ।

जलस्रोत सुक्दै गएका र भण्डारण साधनको अभावमा पानीको झनै समस्या हुँदै गइरहेको अवस्थामा गरिएको यो सहयोगले स्थानीयहरूलाई राहत दिएको छ। कार्यक्रममा हरिवन–१ का वडाध्यक्ष टम बहादुर घिसिङ प्रमुख अतिथि रहनु भएको थियो भने हाम्रो शहर परियोजनाका संयोजक धिरेन्द्र चौधरीको अध्यक्षता रहेको थियो। कार्यक्रमको सञ्चालन विद्या पौडेलले र जानकारी पुनम भट्टराईले गराएकी थिइन्।

संयोजक चौधरीले कार्यक्रममा भने, “हाम्रो शहर परियोजना अन्तर्गत HELVETAS Nepal को आर्थिक सहयोग र काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा यो कार्यक्रम गरिएको हो। थामी टोलवासीलाई सुरक्षित पानी संकलन र शुद्धिकरणमा सहयोग पुर्‍याउने हाम्रो उद्देश्य हो।”

तीन दशकदेखि बागमती सेवा समाजले मधेश, बागमती र कोशी प्रदेशका ११ जिल्लामा शिक्षा, स्वास्थ्य, खानेपानी र विपद् व्यवस्थापनमा काम गर्दै आएको छ। लामो खडेरीपछि सरकारले चुरे क्षेत्रलाई संकटग्रस्त घोषणा गरेसँगै समाजले विभिन्न स्थानमा शुद्ध पानी वितरण अभियान तीव्र बनाएको हो ।

७६ वर्षीय स्थानीय बासिन्दा ज्ञानबहादुर खड्काले सहयोग पाएपछि भावुक हुँदै भने: “हाम्रो लागि यी संस्था त भगवान जस्तै भएर आएका हुन्। यस्तो सहयोग अहिलेसम्म कसैले गरेको थिएन।”

यस सामग्री वितरणले चुरे क्षेत्रका बासिन्दालाई दीर्घकालीन रूपमा सुरक्षित पानी संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *