
जनकपुर
प्रेमनाथ पौडेल | Super Media Nepal
विश्व डुबान रोकथाम दिवस २०२५ को अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा एक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मधेश प्रदेशमा डुबानसम्बन्धी बढ्दो जोखिम र बालबालिका प्रभावित हुने अवस्था प्रति सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउन उद्देश्यले प्रदेशस्तरीय छलफल गरिएको हो।
प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा तथा विश्व स्वास्थ्य संगठन (WHO) र बागमती सेवा समाज नेपालको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज चन्द्र न्यौपानेको अध्यक्षता रहेको थियो। कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोद यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा धनुषा स्वास्थ्य कार्यालयका प्रमुख उमेश यादव, प्रादेशिक प्रहरी कार्यालयका निरीक्षक सोनु कुमार साह, डब्लुएचओका प्रतिनिधि रमेश यादव र डा. कमलेश यादव, युनिसेफकी प्रतिनिधि लता बज्राचार्य, तथा वाटरएडका जयप्रकाश यादव लगायत विभिन्न मन्त्रालय, सरकारी निकाय र गैरसरकारी संस्थाबाट करिब ५० जना सरोकारवालाहरूको सहभागिता रहेको थियो।
बागमती सेवा समाज नेपालका सम्बन्ध समन्वय संयोजक रामकृष्ण रायले प्रस्तुत गरिएको तथ्यांकमा विश्व, नेपाल तथा विशेषगरी मधेश प्रदेशमा बालबालिका डुबेर ज्यान गुमाउने दर अत्यधिक रहेको उल्लेख गरिएको थियो। उहाँले बालबालिका लक्षित डुबान रोकथाम अभियान अन्तर्गत विद्यालयमा ‘डुबान रोकथाम क्लब’ स्थापना, सडक नाटकमार्फत जनचेतना कार्यक्रम, र समुदायमा सक्रिय अभिभावक जागरणजस्ता गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय वेबिनारमार्फत आयोजना गरेको डुबान रोकथाम दिवस सम्बन्धी भिडियो पनि प्रस्तुत गरिएको थियो, जसमा नेपालबाट बागमती सेवा समाज नेपाल, नेक्सस इन्स्टिच्युट अफ रिसर्च इनोभेसन (NIRI) र रोटरी क्लब बालाजु सहभागी थिए।
बागमती सेवा समाज नेपालले हालै हरिवन नगरपालिकामा ‘समुदायमा डुबेर मृत्यु न्यूनीकरणका लागि निर्देशिका’ निर्माण प्रक्रिया सुरु गरेको जानकारी पनि कार्यक्रममा दिइयो। नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूको सहभागितामा गरिएको छलफलमा उक्त अवधारणालाई स्वीकार गर्दै स्थानीय तहबाट निर्देशिका निर्माणमा चासो देखाइएको थियो। यो निर्देशिका नेपालकै पहिलो सरकारी स्तरको प्रयास भएको जानकारी दिइयो।
कार्यक्रमको समापनमा निर्देशक सरोज न्यौपानेले बागमती सेवा समाज नेपालको प्रयासलाई सराहना गर्दै भन्नुभयो, “डुबान रोकथामको यो अभियान सम्पूर्ण प्रदेशमा विस्तार हुन आवश्यक छ, र यसमा बागमती सेवा समाज नेपालले नेतृत्व गरून् भन्ने हाम्रो अपेक्षा छ।”
त्यस्तै, जनकपुर उपमहानगरपालिकाका प्रतिनिधिले समेत समाजले प्रस्तुत गरेको रणनीति प्रभावकारी रहेको बताउँदै आफ्नै नगरमा समेत सोही ढाँचामा नीति निर्माण र कार्यान्वयनको प्रतिबद्धता जनाए।
कार्यक्रमको अन्त्यमा सबै सरोकारवालाहरूले विशेष गरी बालबालिकाको जीवनरक्षा गर्न डुबान रोकथाममा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।