
मलंगवा | असार २० Super Media Nepal
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।
जिल्ला अदालत सर्लाहीले पक्राउ पुर्जी जारी गरेपछि उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाभरका सबै प्रहरी युनिटहरूलाई सतर्क बनाउँदै निगरानी कडा बनाएको हो।
प्रहरीका अनुसार नेता यादवको मोबाइल ट्र्याकिङ तथा लोकेसन पत्ता लगाउने प्रयास तीव्र पारिएको छ। सम्भावित स्थानहरूमा व्यापक निगरानी बढाइएको छ भने थप फोर्स जिल्ला प्रहरी कार्यालयमा तयारी अवस्थामा राखिएको छ।
बिहीबार राति नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबीचको अभद्र संवादको अडियो सार्वजनिक भएपछि अवस्था तनावपूर्ण बनेको थियो।
सोही रात यादवलाई पक्राउ गर्न गएको टोलीमाथि ढुंगामुढा भएको थियो। यादवका समर्थकहरूले सरकारी गाडी तोडफोड, प्रहरी कार्यमा अवरोध र बाटो अवरुद्ध पारेको प्रहरीको भनाइ छ।
उक्त घटनाका आधारमा प्रहरीले जिल्ला अदालतमा प्रतिवेदन पेश गरेपछि अदालतले पक्राउ आदेश जारी गरेको हो।