
काठमाडौं, २०८१ चैत्र १५ – काठमाडौंको तीनकुनेमा राजावादी समूहद्वारा आयोजित प्रदर्शन उग्र बनेपछि प्रहरीले बल प्रयोग गर्दै क्षेत्रलाई पूर्ण रूपमा खाली गराएको छ। हाल सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
शुक्रबार बिहान ११ बजेदेखि शुरू भएको प्रदर्शन तोकिएको सीमाभित्र रहे पनि दिउँसोपछि स्थिति बिथोलिएको थियो। प्रदर्शनकारीले निजी घर तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको, साथै प्रहरीको अश्रुग्यास प्रहार गर्ने गन खोस्ने प्रयास गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
स्थिति अनियन्त्रित बनेपछि प्रहरीले हवाई फायर, अश्रुग्यास तथा पानीको फोहोरा प्रयोग गरी भीड तितरबितर पारेको छ। हाल क्षेत्र सामान्य बन्दै गए पनि सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रदर्शनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईँको पछुवा गाडी निषेधित क्षेत्रमा प्रवेश गरेपछि तनाव झन् बढेको थियो। प्रशासनले स्थिति नियन्त्रण गर्न कर्फ्यु आदेश जारी गरेको छ।
हाल तीनकुने क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाइएको छ भने थप अप्रिय घटना हुन नदिन प्रहरी उच्च सतर्कतामा रहेको छ।