
सुपर मिडिया नेपाल काठमाडौँ, मंगलबार
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरिएको विरोधमा विद्यार्थीहरू काठमाडौँमा प्रदर्शनमा उत्रिएका छन्।
मंगलबार बिहान नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्गमा विरोध प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला दहन गरेको हो।
सोमबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। सरकारको यो निर्णयप्रति चौतर्फी विरोध भइरहेको छ।

विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको निर्णय तत्काल फिर्ता लिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले घिसिङलाई हटाउनु ऊर्जा क्षेत्रमा भएको महत्वपूर्ण योगदानको उपेक्षा भएको आरोप लगाए।

देशभरबाट सामाजिक सञ्जालदेखि विभिन्न क्षेत्रसम्म घिसिङको बर्खास्तीको आलोचना भइरहेको छ। विद्यार्थीहरूले विरोधका कार्यक्रमलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।