पर्सा गाउँपालिकाको बालमैत्री सिकाइ केन्द्रमा निःशुल्क कम्प्युटर कक्षा सुरु

Share
3.7/5 - (3 votes)

मलंगवा

सर्लाहीको पर्सा गाउँपालिकामा बालमैत्री सिकाइ केन्द्रका बालबालिकाहरूका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालनमा आएको छ। बागमती सेवा समाज नेपाल, वल्र्ड भिजन इन्टरनेसनल नेपाल र पर्सा गाउँपालिका वडा नं. २ को सहकार्यमा कम्प्युटर कक्षा सञ्चालन गरिएको हो।

पर्सा गाउँपालिका वडा नं. २ का अध्यक्ष राकेश राम, वडा नं. १ का अध्यक्ष सतेन्द्र राय यादव, पर्सा बाल अधिकार समितिका संयोजक सुनिता देवी पासवान, तथा राष्ट्रिय जनता बैजु मा.वि. का प्रधानाध्यापक सुरेन्द्र रजकले संयुक्त रूपमा कम्प्युटर कक्षाको उद्घाटन गरे।

वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा बागमती सेवा समाज नेपालले बाल संरक्षण, समुदाय संलग्नता स्पोन्सरसीप परियोजनाबाट सिकाइ केन्द्रका लागि बसाइ व्यवस्थापन, प्रेरणादायी पुस्तकहरू, खेलकुद सामग्री, ३ वटा कम्प्युटर, टेबल, र कुर्सी प्रदान गरेको छ।

परियोजना संयोजक प्रमेश बादेका अनुसार बालबालिका र किशोरकिशोरीहरूले कम्प्युटर सिक्ने माग गरेका थिए। “विभिन्न चरणमा पालिका तथा वडासँग समन्वय बैठक बसेपछि कम्प्युटर कक्षाको स्थापना गरिएको हो। बालबालिकाहरूलाई फुर्सदको समय सदुपयोग गर्न, विभिन्न ज्ञान आर्जन गर्न, योजना बनाउन तथा कम्प्युटर सीप सिक्न अवसर प्रदान गर्ने उद्देश्य रहेको छ,” बादेले बताए।

किशोरी तथा कम्प्युटर प्रशिक्षार्थी पूजा यादवले निःशुल्क कम्प्युटर सिक्ने अवसर पाउँदा निकै खुशी लागेको बताइन्। पर्सा गाउँपालिकाका कार्यपालिका सदस्य प्रविण रजकले कम्प्युटर शिक्षा आधुनिक युगमा आवश्यक भएको उल्लेख गर्दै यस्तो पहल निरन्तर रहने बताए।

वडा नं. १ का अध्यक्ष सचिन्द्र राय यादवले आफ्नो वडामा पनि बालबालिकाका लागि कम्प्युटर सिकाइ कक्षा सञ्चालन गर्न आवश्यक व्यवस्था गरिने बताए। वडा नं. २ का अध्यक्ष राकेश रामले हाल ३ वटा कम्प्युटर उपलब्ध रहेको र ३ महिनासम्म १२ जना किशोरकिशोरीले सिक्ने व्यवस्था मिलाइएको जानकारी गराए। आवश्यकता अनुसार कम्प्युटरको संख्या बढाइने र कक्षा निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाए।

समारोहमा अभिभावक, बालबालिका, वडा सदस्य, शिक्षक, वल्र्ड भिजनका जिल्ला संयोजक सीता चौधरी लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूले कम्प्युटर कक्षालाई थप सशक्त बनाउन वडा र सम्बन्धित निकायबाट थप सहयोगको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *