
भोजपुर, असार २२ Super Media Nepal
भोजपुरमा एक दर्दनाक घटना सार्वजनिक भएको छ, जहाँ ससुराली गएका एक ज्वाईले सासु, ससुरा, श्रीमती र श्रीमतीको भाइको हत्या गरेका छन्। झन चकित पार्ने कुरा त के छ भने उनले आफैंले प्रहरीलाई खबर गरेर आत्मसमर्पण गरेका छन्।
भोजपुरको रामप्रसाद राई गाउँपालिका–२, घोदेलीखानीमा ससुराली आएका २७ वर्षीय राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र नाबालक सालोको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।
हत्या भएकाहरूमा श्रीमती १६ वर्षीया मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु ४५ वर्षीया मञ्जु गिरी र ९ वर्षीय सालो सपन गिरी रहेका छन्।
ज्वाइँ राईले सबैको हत्या गरेपछि आफैंले प्रहरीलाई फोन गरेर आत्मसमर्पण गरेका थिए। इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको टोली घटनास्थल पुगेको थियो र उनलाई नियन्त्रणमा लिएको हो।
प्राथमिक बयानमा राईले सासुले छुरा प्रहार गरेपछि आफू आवेशमा आएर खुकुरी प्रयोग गरेको बताएका छन्। भागी विवाहपछि चर्किएको पारिवारिक विवाद अन्ततः चारजना निर्दोषको ज्यान जाने घटनामा परिणत भएको हो। प्राप्त जानकारी अनुसार, घटनास्थलमा प्रहरी पुगिसकेको छ र थप अनुसन्धान भइरहेको छ। हत्या किन गरिएको हो भन्ने कारण हाल स्पष्ट भइनसकेको भए पनि प्रारम्भिक अनुसन्धानमा घरेलु विवादको आशंका गरिएको छ।
स्थानीयहरू घटनाबाट अत्यन्त स्तब्ध बनेका छन् भने भोजपुर प्रहरीले घटनाको गम्भीरता बुझेको र विस्तृत अनुसन्धान अगाडि बढाइएको जनाएको छ।
घटनाको विवरण अझै संकलन भैरहेको हुँदा थप विवरण सार्वजनिक हुन बाँकी छ।