मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित

Share
Rate this News

काठमाडौं – मौसम प्रतिकूल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने हवाई उडानहरू प्रभावित भएका छन्। विमानस्थल कार्यालयका अनुसार मौसम खराबीका कारण परराष्ट्रमन्त्री आरजु राणा देउवा चढेको कतार एयरवेजको दोहाबाट आउने जहाज कोलकाता डाइभर्ट भएको छ। त्यस्तै, मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली तथा चीनको तियान्फुबाट आएको सिचुआन एयरलाइन्सको जहाज तिब्बतको ल्हासा डाइभर्ट भएको छ। ‘भिजिबिलिटी’ कमजोर भएका कारण आन्तरिक हवाई उडानहरू पनि प्रभावित भएका छन्। काठमाडौं उपत्यकामा आकाश धुम्मिएको छ भने तराई-मधेशका केही ठाउँमा बाक्लो हुस्सु लागेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशभर परेको छ। यसकै असरले आज विभिन्न स्थानमा हल्का वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। बिहान काठमाडौं उपत्यकामा पनि हल्का वर्षा भएको थियो। मौसमविद्हरूका अनुसार, आज दिनभर देशका पहाडी भेगहरूमा झरी पर्ने सम्भावना रहेको छ। मौसम खुल्न अझै समय लाग्ने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *