
उमेश विश्वकर्मा ‘अल्पविराम’ सिराहाको लहान बजारबाट करिब एक घण्टाको दूरीमा रहेको नवराजपुर गाउँपालिका–१, भगवतीपुर गाउँ आज शोकमा डुबेको छ। त्यहाँ एक घर छ, जहाँ अब १७ वर्षीया रिंकुकुमारी सदा छैनन्। उनको परिवार शोकाकुल छ, तर अझै पनि न्यायको खोजीमा संघर्षरत छ।
रिंकुको घरको अगाडि “रिंकुकुमारी सदा लाई न्यायका लागि मुसहर समुदाय द्वारा जन दबाब अभियान – मुसहर संघर्ष समिति” लेखिएको एउटा फ्लेक्स ब्यानर टाँसिएको छ। माघ २७ गते राति सामूहिक बलात्कार र माघ ३० गते रहस्यमय मृत्यु भएका रिंकुका लागि न्याय माग्दै समुदाय एकजुट भएको छ। तर, १ महिना बितिसक्दा पनि उनको परिवारको आँखाबाट आँसु ओभाएको छैन, न त न्यायका लागि उठेका आवाजहरू नै टुङ्गिएको छ।

रिंकुकी आमा आक्रोशित छिन्, शोकमा छिन्। जब हामी उनको घर पुग्यौं, उहाँको एक मात्र प्रश्न थियो – “मेरो छोरीलाई किन मारियो? के कारणले मारियो?” यो प्रश्न हाम्रो समाज, प्रहरी प्रशासन र राज्यप्रति गम्भीर प्रश्न हो।
सामूहिक उत्तर खोज्न जरुरी छ
रिंकुको घटनाले हाम्रो समाजको यथार्थ चित्रण गर्छ। यो घटनाले उठाएका केही प्रश्नहरूमध्ये केहि यस्ता छन्, जसको उत्तर खोज्नु हाम्रो सबैको जिम्मेवारी हो –
१. किन बलात्कार जस्तो अक्षम्य अपराधलाई मिलाउन पंचायती बसाइन्छ?
रिंकुमाथि भयावह अत्याचार हुँदा पनि प्रहरी प्रशासन २ दिनसम्म गाउँ पुगेन। किन? के राज्यसँग दलित समुदायका लागि न्याय सुनिश्चित गर्ने इच्छाशक्ति छैन?
२. किन संविधानमा लेखिएको हक कार्यान्वयन गर्न सकिएको छैन?
नेपालको संविधानले दलित समुदायका लागि भूमि र आवासको व्यवस्था गर्ने ग्यारेन्टी गरेको छ। तर, किन अझै पनि मुसहर समुदायका परिवारहरू खुला आकाशमुनि बस्न बाध्य छन्?
३. आधारभूत पूर्वाधारको अभावले किन महिलाहरू असुरक्षित छन्?
रिंकु राति शौच गर्न गएकी थिइन्। यदि गाउँमा सुरक्षित शौचालय र खानेपानीको सुविधा हुन्थ्यो भने के यस्तो घटना घट्थ्यो? राज्य र गैरसरकारी संस्थाहरू मिलेर आधारभूत पूर्वाधार निर्माण गर्न सक्दैनन्?
४. किन युवाहरूलाई कानुनी सचेतना दिइएको छैन?
यदि समाजमा यौन हिंसा, महिला अधिकार र कानुनी कारबाहीबारे व्यापक सचेतना फैलाइन्थ्यो भने यस्ता घटना रोक्न सकिन्थ्यो। के हामी अब सचेतना अभियान चलाएर हिंसाका विरुद्ध आवाज उठाउन सक्छौं?
५. बारम्बार दोहोरिने यस्ता घटनाहरू अन्त्य कसरी गर्ने?
हामीले यस्ता घटनाहरू रोक्न दीर्घकालीन योजना बनाउन आवश्यक छ। पीडित परिवारलाई न्याय दिलाउने कानुनी प्रक्रिया सशक्त बनाउनुपर्छ। दोषीहरूलाई कडा कानुनी कारबाही हुनुपर्छ।
रिंकुका लागि न्यायको लडाइँमा हामी सबै एक हौं
रिंकुको न्याय मात्र उनका परिवारका लागि होइन, यो हाम्रो समाजका सम्पूर्ण महिलाहरूको न्यायको लडाइँ हो। बलात्कारीहरूलाई उन्मुक्ति दिने प्रवृत्तिविरुद्ध हामी सबैले आवाज उठाउनुपर्छ।
• पीडित परिवारलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउनुपर्छ।
• दलित तथा विपन्न वर्गका महिलाहरूका लागि सुरक्षित आवास, शौचालय र सुरक्षाको व्यवस्था गर्नुपर्छ।
• विद्यालय तथा कलेजहरूमा कानुनी सचेतना कार्यक्रम अनिवार्य गर्नुपर्छ।
• बलात्कार तथा हिंसाका घटनाहरू मिलाउन खोज्ने व्यक्तिहरूलाई पनि कानुनी दायरामा ल्याइनुपर्छ।
रिंकुको न्यायका लागि हाम्रो ऐक्यबद्धता आवश्यक छ। न्यायको यो लडाइँ तबसम्म जारी रहन्छ, जबसम्म रिंकु सदाजस्ता निर्दोष छोरीहरू सुरक्षित रहँदैनन्।
“न्यायको लागि हाम्रो आवाज – अन्यायको विरुद्ध हाम्रो संघर्ष!”