रोजगार र हरियाली: युवालाई बनमार्फत आर्थिक रूपमा मजबुत बनाउने हरिवनको पहल

Share
Rate this News

हरिवन, सर्लाही, भाद्र १२ प्रेमनाथ पौडेल | Super Media Nepal

सामुदायिक बनको दिगो व्यवस्थापन, संरक्षण र विकासको मेरुदण्ड नै युवा शक्ति हो भन्ने मूल भावनालाई केन्द्रमा राखी हरिवन नगरपालिकामा एक कार्यक्रम सम्पन्न भएको छ। “बनको दिगो व्यवस्थापन, सामुदायिक अधिकार, समावेशी सुशासन र हरित समृद्धिको आधार” को नारासहित आयोजित उक्त कार्यक्रममा वक्ताहरूले युवालाई बनसँग जोडेर नै रोजगारी र आर्थिक अवसर सिर्जना गर्नुपर्नेमा बलियो तर्क राखे।

सामुदायिक बन उपभोक्ता महासंघ सर्लाहीको आयोजनामा भएको कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष सिताराम पोख्रेलले गर्नुभयो भने हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा स्थानीय सरोकारवालाहरूले आ-आफ्ना धारणा व्यक्त गरे।

कार्यक्रमका प्रमुख अतिथि उप-प्रमुख घलानले “बन भनेको जीवन हो, बन नभए जीवन सम्भव हुँदैन” भन्दै बढ्दो बन विनाशलाई रोक्न चुरे क्षेत्रमा फडानी नियन्त्रण र वृक्षारोपणलाई निरन्तरता दिनुपर्ने आवश्यकता माथि जोड दिनुभयो। उहाँले नगरभित्र रहेका १८ वटा दर्ता भएका सामुदायिक बनहरूको विकासका लागि नगरपालिका र व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

विभिन्न वक्ताहरूले युवाशक्तिलाई सामुदायिक बनको संरक्षण र व्यवस्थापनसँग जोड्न सकिएमा मात्रै दीगो विकास सम्भव छ भन्ने साझा धारणा राखे। वडा नं. ८ का वडा अध्यक्ष प्रज्वल ढुङ्गाना, वडा नं. ११ का कार्यवाहक वडा अध्यक्ष युग बहादुर अधिकारी, नगरपालिकाका बन तथा वातावरण अधिकृत सुवास कुश्वाह, महासंघका सल्लाहकार संयोजक माधव थापा, बन अधिकारकर्मी विनिता दाहाल र तारा सुवेदीले युवालाई बनसँग जोड्ने कामबाट नै रोजगारी सिर्जना, चुरे क्षेत्रलाई हराभरा बनाउने, र खानेपानीको संकट समाधान गर्न सकिने विश्वास व्यक्त गरे।

महासंघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रल्हाद बुढाथोकीको अनुसार, सहभागीहरूले सामुदायिक बनलाई आधार मानेर युवालाई दिगो विकास, रोजगारी र वातावरण संरक्षणमा संलग्न गराउनु आजको प्रमुख आवश्यकता रहेको बताए।

कार्यक्रममा सहभागीहरूले लगाइएका बिरुवाहरूको संरक्षणमा सामुदायिक भूमिका बढाउने सहमति व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *