
श्रावण ३, सर्लाही लालबन्दी |
प्रेमनाथ पौडेल | सुपर मिडिया नेपाल
सर्लाहीको लालबन्दीमा विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणसम्बन्धी तीनदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। हरिपुर्वा नगरपालिकामा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना (NRL) अन्तर्गत राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल (WVI Nepal) को संयुक्त आयोजनामा तालिम सम्पन्न भएको हो।
लालबन्दीस्थित युनाइटेड होटलको सभा हलमा बिहीबारदेखि शनिबारसम्म सञ्चालन गरिएको तालिममा स्थानीय विपद् व्यवस्थापन समिति (LDMC) का सदस्यहरू, युवा स्वयंसेवक लगायत ३० जना सहभागी रहेका थिए।

तालिममा प्रशिक्षक मोहन गौतमले विपद् व्यवस्थापनका प्रमुख आयामहरू-पूर्वतयारी, प्रतिकार्य, पुनःस्थापना, प्राथमिक उपचार तथा स्रोत परिचालन-बारे सैद्धान्तिक जानकारीका साथै व्यवहारिक अभ्यास गराएका थिए।
साथै, जोखिम पहिचान, आपतकालीन योजना निर्माण, र स्रोत परिचालन जस्ता महत्वपूर्ण विषयमा सहभागीहरूले समूहगत अभ्यास र योजना निर्माण समेत गरेका थिए।

फिल्ड अधिकृत उमेश नन्दन चौधरीका अनुसार, तालिम सहभागीहरूलाई समूहगत प्रस्तुतीकरणमार्फत सिकाइलाई व्यवहारमा उतार्ने अवसर प्रदान गरिएको थियो।
समापन कार्यक्रम जेष्ठ सहभागी दुखा राय यादवको अध्यक्षतामा सम्पन्न भयो। सहभागीहरूको तर्फबाट कुन्ती पण्डित र मंगलदास यादवले यस्ता तालिमहरूले समुदायमा चेतना, क्षमता र आपतकालीन स्थितिमा प्रभावकारी प्रतिकार्यका लागि सहयोग पुर्याउने बताए। उनीहरूले यस्ता कार्यक्रमहरू गाउँ–गाउँसम्म विस्तार गर्नुपर्नेमा जोड दिए।
तालिमको अन्तिम दिन सहभागीहरूले सिकेका सीप, अभ्यास तथा कार्ययोजनाहरू समूहगत रूपमा प्रस्तुत गरेका थिए।
परियोजना अधिकृत राजेश साहका अनुसार, सहभागीहरूले देखाएको सक्रियता र प्रतिबद्धता उत्साहजनक रहेको छ।