
सर्लाही | Super Media Nepal
सर्लाहीमा शुक्रबार राति अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हरिपुर्वा नगरपालिका–६ घर भएका ४० वर्षीय रामपुकार यादवलाई राति करिब ८:२० बजे दुई जनाको समूहमा आएका व्यक्तिले गोली प्रहार गरेका हुन्।
डीएसपी सरोज राईका अनुसार यादव आफ्नै घर अगाडि छरछिमेकीसँग गफ गर्दै बसेका बेला मोटरसाइकलमा आएका दुई अपरिचित व्यक्तिले ‘रामपुकार को हो?’ भनेर सोध्दै टाउकोमा गोली हानेका प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहारपछि आक्रमणकारी तत्कालै फरार भएका थिए।
गम्भीर घाइते भएका यादवलाई आफन्तले तत्कालै महोत्तरीको सोनामा गाउँपालिकास्थित जानकी हेल्थ केयर लगिएको थियो। तर उपचारको क्रममा राति ८:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
घटनाको जानकारी पाउनासाथ प्रहरीले व्यापक संख्यामा फोर्स परिचालन गरेको छ। प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफजुल्लाहाको कमाण्डमा ४ जना, इलाका प्रहरी कार्यालय केशरगञ्जबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको कमाण्डमा ११ जना, साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काको कमाण्डमा २१ जनासहित जम्मा ३६ जना प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ।
पूर्व शिक्षक रहेका यादव हाल खेतीपाती गरेर घरमै बस्दै आएका थिए। उनलाई गोली हान्नुको कारण भने अहिलेसम्म खुलेको छैन।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भने आक्रमणकारीको पहिचान र खोजी तीव्र पारिएको छ।