
हरिवन, जेष्ठ २३ – प्रेमनाथ पौडेल
विश्व वातावरण दिवस २०८२ को अवसरमा सर्लाही जिल्लामा विभिन्न संघसंस्थाको सहकार्यमा विविध कार्यक्रम गरी दिवस भव्य रूपमा मनाइएको छ।
“प्लास्टिक प्रदूषण न्यूनीकरणमा हाम्रो दायित्व” भन्ने मूल नारासहित कार्यक्रमहरू सम्पन्न भएका हुन्।
हरिवन नगरपालिकाको बन तथा वातावरण शाखा, समृद्धिका लागि बन परियोजना (मधेश प्रदेश), सर्लाही वन प्राविधिक समाज, बागमती सेवा समाज, बन उपभोक्ता महासंघ, इको क्लब, र सब डिभिजन बन कार्यालय जानकीनगरको संयुक्त आयोजनामा प्रभातफेरी, वृक्षारोपण र अन्तरक्रिया कार्यक्रम गरिएको थियो।

कार्यक्रमको सुरुवात हरिवन चौकबाट प्रभातफेरी गर्दै बन बाटिका पुगेर वृक्षारोपण र अन्तरक्रिया कार्यक्रमको रूपमा सम्पन्न भयो।
कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान प्रमुख अतिथिका रूपमा सहभागी भइन्।
स्थानिय विद्यालय, इको क्लबका विद्यार्थी, शिक्षक, पत्रकार, र अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

वक्ताहरूले वातावरण संरक्षणमा सबैको सक्रियता आवश्यक रहेको बताउँदै प्रत्येक परिवारले कम्तीमा ८ वटा बिरुवा रोप्नुपर्ने, र प्लास्टिक प्रयोग न्यूनीकरण गर्न व्यक्तिगत स्तरबाटै थालनी गर्नुपर्नेमा जोड दिए।
🌳 चापिनीमा वृक्षारोपण तथा तारजाली सुरक्षा
यसै क्रममा हरिवन–८ चापिनी टोलमा वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ।
कार्यक्रमको आयोजना चापिनी टोल सुधार समितिले गरेको हो भने सहयोग हरिवन नगरपालिका, सानिमा बैंक, बागमती सेवा समाज, र सामेहेल्भेटास नेपालले गरेका थिए।

उक्त कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी कमल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
इन्जिनियर अनमोल कुश्वाहका अनुसार बिरुवाको दीर्घकालीन संरक्षणका लागि सानिमा बैंकको सहयोगमा तारजाली समेत राखिएको छ।

सहभागीहरूले वातावरण संरक्षण अभियानलाई एक दिनको कार्यक्रममा सीमित नराखी निरन्तरता दिनुपर्ने, र “मबाट नै सुरु गरौं” भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए।