
सर्लाही, हरिवन, साउन २२
प्रेमनाथ पौडेल | Super Media Nepal
हरिवन नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा, बागमती सेवा समाजको समन्वय तथा हेल्भेटास नेपाल, वाटर एड, एक्सन अगेंस्ट हंगर लगायतका संस्थाको सहकार्यमा सर्लाहीको हरिवनमा ३३औं विश्व स्तनपान सप्ताह २०२५ विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
“स्तनपानलाई प्रोत्साहन दिऔं : सहयोगी वातावरण निर्माण गरौं” भन्ने नारासहित साउन १६ देखि २२ गतेसम्म मनाइएको यो सप्ताह शिशु पोषण, मातृत्व स्वास्थ्य र स्तनपानको महत्वबारे जनचेतना अभिवृद्धिमा केन्द्रित रह्यो।
कार्यक्रमको समापन हरिवन नगरपालिका–११ स्थित मुस्लिम बस्तीमा वडाध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गर्भवती महिला, स्तनपान गराइरहेका आमाहरू, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

‘हाम्रो शहर परियोजना’ की सहजकर्ता पुनम भट्टराईका अनुसार कार्यक्रममा स्तनपानको महत्व, यसका स्वास्थ्य लाभहरू, स्तनपान सप्ताह मनाउने उद्देश्य लगायतका विषयमा समुदायलाई जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा हरिवन स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, हाम्रो शहर परियोजनाका संयोजक धिरेन्द्र चौधरी, स्वास्थ्य चौकीका इन्चार्ज रामपुकार महतो, बागमती सेवा समाजका पोषण अधिकृत सन्तोष नेपाल, जनस्वास्थ्य निरीक्षक सुरेश महतो लगायतको विशेष उपस्थिति रहेको अर्की सहजकर्ता बिधा पौडेलले जानकारी दिइन्।
🔹 स्तनपानको आवश्यकता र महत्व
- आमाको दूध शिशुको पूर्ण आहार हो – पहिलो ६ महिनासम्म केवल स्तनपान नै पर्याप्त हुन्छ।
- जन्मपछिको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्नु अनिवार्य छ।
- स्तनपानले शिशुलाई झाडापखाला, निमोनिया, संक्रमण लगायत रोगबाट जोगाउँछ।
- आमामा पाठेघर चाँडो सन्चो हुने, स्तन क्यान्सरको खतरा कम हुने, र आर्थिक बचत हुने फाइदा हुन्छ।
🔹 स्तनपान गराउँदा हुने फाइदाहरू
✅ रोगसँग लड्ने क्षमता वृद्धि
✅ मानसिक तथा बौद्धिक विकास
✅ आमा-शिशुबीचको सम्बन्ध सशक्त
✅ स्तन र पाठेघर क्यान्सरको जोखिममा कमी
✅ परिवारको आर्थिक बचत

🔹 किन मनाइन्छ स्तनपान सप्ताह?
विश्वव्यापी रूपमा नवजात शिशु तथा आमाको स्वास्थ्य प्रवर्द्धन गर्न, स्तनपानको अभ्यासलाई प्रोत्साहन गर्न, हरेक वर्ष अगस्ट १ देखि ७ (नेपालमा साउन १६–२२) सम्म विश्व स्तनपान सप्ताह मनाइन्छ। नेपालमा यो सप्ताहलाई समुदायसम्म पुगेर जनचेतना फैलाउने अभियानको रूपमा लिइन्छ।