
सर्लाही हरिवन, भाद्र १५ । प्रेमनाथ पौडेल Super Media Nepal
सर्लाहीको हरिवनमा सामुदायिक संस्थाहरुलाई लक्षित गर्दै २ दिने नेतृत्व तथा वकालत सम्बन्धी तालिम सुरु भएको छ ।
हरिवन नगरपालिका -११ का वडा अध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षतामा उद्घाटन गरिएको तालिममा ईश्वरपुर नगरपालिकाका योजना अधिकृत पुष्कर मणि घिमिरेले प्रशिक्षण दिइरहेका छन् । उनले नेतृत्वको महत्व, आवश्यक गुण, वकालत गर्ने तरिका, टोल विकास संस्थाका पदाधिकारीको भूमिका तथा अधिकारबारे विस्तृत प्रशिक्षण दिएका छन् ।

कार्यक्रम संयोजक तथा बागमती सेवा समाज-हाम्रो शहर परियोजनाका धिरेन्द्र चौधरीले तालिमको उद्देश्यबारे जानकारी दिँदै सामुदायिक संस्थाहरु सशक्त बनाउन नेतृत्व विकास, वकालत र शहरी नीतिहरुमा सहभागिता बढाउने लक्ष्य रहेको बताए ।
सो तालिममा विभिन्न टोल विकास संस्था, रोड सेफ्टी क्लबका पदाधिकारी, वडा ८ र ११ का वडा सदस्य तथा अन्य सामाजिक व्यक्तित्वहरुको समेत सक्रिय सहभागिता रहेको समाज परिवर्तन सहजकर्ता विधा पौडेलले जानकारी दिइन् ।
यो तालिम बागमती सेवा समाज नेपाल, हरिवनको आयोजनामा, हेल्भेटास नेपालको आर्थिक सहयोग तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको हो । आयोजकका अनुसार तालिम सोमबारसम्म चल्नेछ ।

बागमती सेवा समाजले पछिल्लो आठ महिनादेखि हरिवन नगरलाई व्यवस्थित, सुन्दर र दिगो शहर बनाउन विभिन्न गतिविधि गर्दै आएको छ । यस अवधिमा संस्थाले पूर्वाधार, सीप विकास, सुशासन, सूचना अधिकार तथा शहरी नीति २०८१ सम्बन्धी तालिममार्फत समुदायलाई सशक्त बनाउन निरन्तर काम गर्दै आएको जनाएको छ ।