सुख्खाग्रस्त मधेशमा वर्ल्ड भिजनको सिँचाइ र खानेपानी सहयोग विस्तार

Share
Rate this News

बर्दिबास, असार ३२ — प्रेमनाथ पौडेल | सुपर मिडिया नेपाल

मधेश प्रदेशलाई सरकारले हालै सुख्खाग्रस्त क्षेत्र घोषणा गरेसँगै, प्रभावित जिल्लाहरूमा सिँचाइ तथा खानेपानी संकट समाधान गर्न वर्ल्ड भिजन इन्टरनेशनल नेपालले ठोस कदम अघि सारेको छ।

वर्ल्ड भिजनले ग्रामीण विकास समाजसँगको सहकार्यमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकाका १८ र सम्सी गाउँपालिकाका ३२ घरधुरीलाई लक्षित गर्दै साना सिँचाइ सहयोग कार्यक्रम सुरु गरेको हो। कार्यक्रम विशेष गरी विपन्न किसानहरूलाई लक्षित गरिएको वर्ल्ड भिजन मधेश प्रदेश प्रमुख विनय अमात्यले जानकारी दिए।

महोत्तरी जिल्लामा मात्रै नभई, वर्ल्ड भिजनले सर्लाही र रौतहटमा समेत उल्लेखनीय सहयोग प्रदान गरिरहेको छ। सर्लाहीको हरिपुर्वा नगरपालिकामा राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र सर्लाही तथा ग्रामीण विकास केन्द्र रौतहटसँगको सहकार्यमा ५० घरधुरीमा सिँचाइ सुविधा पुगेको छ। त्यस्तै, रौतहटको माधवनारायण नगरपालिकामा ४७ घरधुरीमा सिँचाइ सुविधा विस्तार भइसकेको अमात्यले बताए।

खानेपानीको क्षेत्रमा समेत वर्ल्ड भिजनको प्रभावकारी उपस्थिति देखिएको छ। हालसम्म सर्लाहीको हरिपुर्वा नगरपालिकामा ९३, पर्सामा ४२, महोत्तरीको एकडारामा ५५ तथा सम्सी गाउँपालिकामा ३१४ वटा चापाकल जडान भइसकेका छन्। खानेपानीको अभाव रहेका क्षेत्रमा स्थानीय तहसँग समन्वय गर्दै तत्काल सेवा प्रवाह भइरहेको उनले जनाए।

वर्ल्ड भिजनले आफ्नो कार्यक्षेत्रभित्रका स्थानहरूमा खानेपानी तथा सिँचाइ समस्या समाधानका लागि दीर्घकालीन योजना अनुसार कार्यक्रमहरू सञ्चालन गरिरहेको छ। अमात्यका अनुसार आगामी दिनमा सहयोग कार्यक्रमहरू थप विस्तार गर्ने तयारीसमेत गरिएको छ।

सुख्खाग्रस्त मधेशमा जीवनयापन गरिरहेका किसान तथा सर्वसाधारणका लागि यो पहल राहतस्वरूप सावित हुने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *