
प्रेमनाथ पौडेल, हरिवन, चैत्र २५
२७औं विश्व स्वास्थ्य दिवसको अवसरमा सर्लाहीको हरिवनमा भकभके स्वर बोलाई समस्याबाट पीडित व्यक्तिहरूलाई लक्षित गरी एकदिने निःशुल्क थेरापी तथा परामर्श शिविर सम्पन्न गरिएको छ।
नेपाल भकभके संघको आयोजनामा, एबिलिस फाउन्डेसन नेपालको आर्थिक सहयोग, हरिवन नगरपालिका र सासापुर स्वास्थ्य चौकीको समन्वय तथा बागमती सेवा समाज नेपालको सहकार्यमा हरिवन नगरपालिका वडा नं. ४ स्थित सासापुर स्वास्थ्य चौकीको सभाहलमा उक्त शिविर सञ्चालन गरिएको हो।
शिविरका प्रमुख अतिथि हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी कमल रहनुभएको थियो। कार्यक्रममा नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा प्रणालीको अवस्था र यसको प्रभावबारे जानकारी दिनुभयो।

स्वर बोलाई विशेषज्ञ शंकर गौतमले भकभके स्वर बोलाईसम्बन्धी समस्या र समाधानका उपायहरूबारे व्यावहारिक थेरापी मार्फत सहभागीहरूलाई तालिम दिनुभएको थियो। साथै, नियमित परामर्श, सल्लाह र समूहगत अभ्यासमार्फत सुधार ल्याउन सकिने विषयमा समेत अभ्यास गराइएको थियो।
शिविरकै क्रममा, हरिवन नगरपालिकाभित्र भकभके स्वर समस्याबाट पीडित व्यक्तिहरूका लागि समुहगत थेरापी सञ्चालन गर्न महेश साहको संयोजकत्वमा पाँच सदस्यीय थेरापी समिति गठन गरिएको जानकारी नेपाल भकभके संघका निवर्तमान केन्द्रीय अध्यक्ष रबिन मैनालीले दिनुभयो।
कार्यक्रमको अवसरमा, भकभके स्वर समस्याको समाधानमा सक्रिय भूमिका खेलेको भन्दै हरिवन नगरपालिकाले नेपाल भकभके संघलाई खादा र सम्मानपत्र प्रदान गरी सम्मानसमेत गरेको थियो।
उक्त शिविरमा भकभके स्वर समस्याबाट पीडित ५० जनाको सहभागिता रहेको थियो। कार्यक्रममा नगर उप–प्रमुख हरिमाया घलान, नगर स्वास्थ्य संयोजक रामबाबु चौधरी, सासापुर स्वास्थ्य चौकीका इञ्चार्ज मोहन घिसिङ, मेडिकल असिस्टेन्ट डा. विजय साहलगायतको उपस्थिति रहेको थियो।