
प्रेमनाथ पौडेल | २०८१ वैशाख २४, हरिवन
सर्लाही — सर्लाहीको हरिवन नगरपालिकामा स्थानीय तह स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तह स्वास्थ्य बीमा समन्वय समिति गठन गरिएको छ। नगरपालिकाको आयोजनामा तथा स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय, सर्लाही (हरिवन) को प्राविधिक सहयोगमा समिति गठन गरिएको हो।

स्वास्थ्य बीमा कार्यक्रम सर्लाहीमा २०७७ सालको चैतदेखि सञ्चालनमा आए पनि अपेक्षित रूपमा नागरिकसम्म पुग्न नसकेको तथा प्रभावकारी कार्यान्वयनमा चुनौती देखिएको पाइन्छ। यो पृष्ठभूमिमा नगरप्रमुख रमेश बुढाथोकी ‘कमल’ को संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको स्वास्थ्य बीमा सम्पर्क कार्यालयका संयोजक टिका विष्ट ले जानकारी दिनुभयो।
समितिको गठन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाल, वडा अध्यक्षहरू, लालबन्दी नगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चन्दन चौधरी, विभिन्न स्वास्थ्य चौकीका प्रमुखहरू तथा बीमा दर्ता सहयोगीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा दर्ता अधिकृत गीता बोहरा ले बीमाको महत्व, प्रक्रिया तथा हालको अवस्था बारे जानकारी गराउँदै सेवा थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताइन्। यता, डा. चौधरीले लाभग्राहीमा चेतनाको अभावका कारण अनावश्यक सेवाग्राहीको भिडले सरकारलाई आर्थिक भार पारेको भन्दै आवश्यक सेवाको मात्र प्रयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागी दर्ता सहयोगीहरूले हरिवन–४, सासापुरस्थित स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा सेवा केन्द्र बनाउने माग राखेका छन्। साथै, आफ्नो कार्यप्रति मनोबल बढाउन प्रोत्साहन भत्ता, मोबाइल खर्च लगायतका सुविधा उपलब्ध गराउनुपर्ने सुझाव पनि प्रस्तुत गरेका छन्।
कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरी ले गर्नुभएको थियो।