
सर्लाही,हरिवन- प्रेमनाथ पौडेल
सर्लाहीको हरिवनमा अपाङ्गता भएका नागरिकहरूको हक, पहुँच र समावेशीतासम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम हरिवन नगरपालिका र बौद्धिक तथा शारीरिक अपाङ्ग मानव सेवा केन्द्र, हरिवनको संयुक्त आयोजनामा नगरपालिकाको सभा हलमा सम्पन्न गरिएको हो।

कार्यक्रममा वक्ताहरूले फरक क्षमता भएका नागरिकहरू अझै पनि शिक्षा, स्वास्थ्य र रोजगारीबाट वञ्चित रहेको उल्लेख गर्दै, माया, सम्मान र अवसरको आवश्यकता रहेकोमा जोड दिए।
“अपाङ्गता जो–कोहीलाई कहिल्यै पनि हुन सक्छ, त्यसैले विशेष सहयोग र अवसर अपरिहार्य छ,” उनीहरूले तर्क गरे।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रमेश बुढाथोकी (कमल)ले अपाङ्गता भएका नागरिकलाई लक्षित सेवा–सुविधा उपलब्ध गराउन स्थानीय सरकार प्रतिबद्ध रहेको बताए।
स्वास्थ्य बीमा, शिक्षा, र रोजगारमा विशेष प्राथमिकता दिइने जनाउँदै उनले अपाङ्गता भएका व्यक्तिको हक सुनिश्चित गर्न नगरपालिकाले कुनै कमी हुन नदिने बताए।
कार्यक्रममा संस्थाकी अध्यक्ष भुवनेश्वरी पन्त कडरिया (अन्जना)को अध्यक्षता थियो।

त्यसैगरी, प्रमुख प्रशासनिक अधिकृत हेमराज फुयाल, वडा अध्यक्ष शेख मेहबुब रेजा, शम्भु मैनाली, महिला तथा बालबालिका शाखा प्रमुख आशा खरेल, स्वास्थ्य शाखा प्रमुख रामबाबु चौधरी, वडा नं. ८ की सदस्य सोनी गुर्मछान, महिला नेतृ देवी खरेल, रञ्जु बल, कोषाध्यक्ष अन्जना नेपाल सुवेदी, पत्रकार प्रेमनाथ पौडेल लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन केन्द्रकी सचिव विधा पौडेलले गरेकी थिइन्।

संस्थाका अनुसार हाल हरिवन नगरपालिकाभित्र १५० जना पूर्ण अपाङ्गता भएका र ६५० जना आंशिक अपाङ्गता भएका, गरी करिब ८०० जना अपाङ्गता भएका व्यक्ति रहेको तथ्यांक छ।