हरिवनमा एचपीभी खोप अभियान सुरु, पहिलो दिन ७६५ किशोरीले लगाए खोप

Share
Rate this News

हरिवन, फागुन १
प्रेमनाथ पौडेल

पाठेघरको मुखको क्यान्सरविरुद्ध दोस्रो चरणको खोप अभियान अन्तर्गत हरिवन नगरपालिकामा पहिलो दिन ७६५ किशोरीले एचपीभी खोप लगाएका छन्।
नेपाल सरकारले माघ २३ गतेदेखि फागुन ७ गतेसम्म देशभर सञ्चालन गरिरहेको खोप अभियानअनुसार हरिवन नगरपालिकाले पनि दोस्रो चरण अन्तर्गत आफ्नो अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न सुरू गरेको छ।
फागुन १ गतेदेखि ७ गतेसम्म नगरपालिकाका विभिन्न २९ वटा विद्यालय तथा ११वटा स्वास्थ्य संस्था र समुदाय मा १वटा गरी ४१वटा केन्द्र मार्फत कक्षा ६ देखि माथिका विद्यालय जाने र विद्यालय बाहिर रहेका १४बर्ष सम्मका किशोरीहरूलाई समेत खोप दिने व्यवस्था गरिएकोहो ।
खोप अभियानको पहिलो दिन हरिवन नगरपालिकाकी उप–प्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा हरिवन–८ स्थित गोर्खा एकेडेमी र प्रमुख प्रशासकीय अधिकृत प्रतिक कार्कीको प्रमुख आतिथ्यतामा हरिवन–४ स्थित माईरानी मिक्चनी माविबाट एकसाथ कार्यक्रम सुरु भएको हो।
नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामबाबु चौधरीका अनुसार नगरका ३,हजार १४जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ। पहिलो दिन ७६५ किशोरीलाई खोप लगाइएको नर्सिङ निरीक्षक लक्ष्मी आचार्यले जानकारी दिइन ।


खोप कार्यक्रमलाई व्यवस्थित बनाउन नगरपालिकाले प्रत्येक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी परिचालन गरेको छ। साथै, कार्यक्रम प्रभावकारी बनाउन स्वास्थ्य संस्था, नर्सिङ निरीक्षक, जनप्रतिनिधि लगायतको सहयोगमा अनुगमन, सुपरिवेक्षण तथा सल्लाह सुझावको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
खोप अभियानको उद्घाटन कार्यक्रममा सामाजिक विकास शाखा संयोजक तथा वडा नम्बर ८ का अध्यक्ष प्रज्वल ढुंगाना, गोर्खा एकेडेमीका प्रधानाध्यापक सुवास घिमिरे, माईरानी मावि व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक वासुदेव साह, सासापुर स्वास्थ्य चौकीका इन्चार्ज मोहन घिसिङ, हरिवन स्वास्थ्य चौकीका इन्चार्ज श्याम विनोद कुशवाह लगायतको उपस्थिति रहेको थियो।


नगरपालिकाले आगामी फागुन ७ गतेसम्म प्रत्येक वडामा फरक–फरक केन्द्रमार्फत खोप अभियान सञ्चालन गर्ने जनाएको छ।
जसका लागि ११ ओटै वडामा दुई दुई जनाका दरले २२ जना स्वास्थ्यकर्मी र ७३ जना स्वास्थ्य स्वयमसेविकाहरुलाई खटाईको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *