
सर्लाही, हरिवन । प्रेमनाथ पौडेल Super Media Nepal
सर्लाहीको हरिवनमा सामुदायिक संस्थाहरुलाई लक्षित गरी सञ्चालन गरिएको दुई दिने नेतृत्व तथा वकालतसम्बन्धी तालिम सोमबार सम्पन्न भएको छ।
हरिवन नगरपालिका–११ का वडा अध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरूले तालिम प्रभावकारी र लाभदायक रहेको प्रतिक्रिया दिएका छन्।

प्रशिक्षक पुष्कर मणि घिमिरेले नेतृत्वको अर्थ, आवश्यकता, आवश्यक गुण, वकालत गर्ने तरिका, टोल विकास संस्थाका पदाधिकारीका अधिकार–कर्तव्य र संस्थागत संरचना सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिममा विभिन्न टोल विकास संस्था, रोड सेफ्टी क्लबका पदाधिकारी, वडा ८ र ११ का सदस्य तथा सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो।
यो तालिम हाम्रो शहर परियोजना अन्तर्गत बागमती सेवा समाज नेपाल, हरिवनको आयोजनामा, हेल्भेटास नेपालको आर्थिक तथा काठमाडौं विश्वविद्यालयको प्राविधिक सहयोगमा सम्पन्न भएको हो। आयोजक संस्थाका अनुसार तालिम आइतबार सुरु भई सोमबार सम्पन्न भएको हो।

बागमती सेवा समाजले पछिल्लो आठ महिनादेखि हरिवन नगरलाई व्यवस्थित, सुन्दर र दिगो बनाउन पूर्वाधार विकास, सीप अभिवृद्धि, सुशासन, सूचना अधिकार र शहरी नीति २०८१ सम्बन्धी कार्यक्रममार्फत सरोकारवालालाई सशक्त बनाउन निरन्तर काम गर्दै आएको छ।