महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ को प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसार नै रोकिएको छ । चलचित्रको टिजर र पोस्टरमा सिताराम कट्टेल को लुक्सलाई लिएर चलचित्रको प्रचारप्रसार नै रोकिएको हो । सिताराम कट्टेल चलचित्रको पोस्टरमा नेताको भूमिकामा देखिएका थिए, सोहिलाई लिएर पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमले चलचित्रमा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज आफ्नो अनुमतिबिना प्रयोग गरिएको भन्दै रिट दायर गरेका थिए ।
उक्त रिटमा प्रारम्भिक सुनुवाइपछि मंगलबार उच्च अदालत पाटनले चलचित्रको प्रचार प्रसार नगर्न अन्तरिम आदेश जारी गरेको थियो । अदालतले केन्द्रीय चलचित्र जाँच समितिले अनुमति नदिँदासम्म फिल्मको प्रचार-प्रसार गर्न र प्रचार सामग्री सार्वजनिक गर्न रोक लगाएको छ ।
निर्माण पक्षले बुधबार चलचित्रको ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, अदालतको उक्त आदेशसँगै ट्रेलर सार्वजनिक रोकिएको छ । कुमार कट्टेलद्वारा निर्देशित चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा, माला लिम्बू, सागर लम्साल, हरिष निरौला, कमलमणि नेपाललगायतको अभिनय रहेको छ । चलचित्रको निर्माण नवीन श्रेष्ठले गरेका हुन् भने राम नरेश शाह र सृजना खड्का फिल्मका सहनिर्माता रहेका छन् ।