
फागुन १२,
बर्दिबास
प्रेमनाथ पौडेल
महोत्तरीको बर्दिबासमा एक गैरसरकारी संस्थाले सञ्चालन गरेको विशेष कार्यक्रममा आयआर्जन वृद्धि गरी आत्मनिर्भर जीवनयापनमा परिवर्तन ल्याउन सफल भएका ५२ विपन्न घरधुरीलाई ग्राजुएसनसहित सम्मान गरिएको छ।
एकीकृत ग्रामिण विकास समाज, महोत्तरीले वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा सञ्चालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग प्राप्त गरेका ५२ अति विपन्न घरधुरीलाई विशेष कार्यक्रमका बीच सम्मान गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले विपन्न महिलाहरूको आयआर्जनमा सहयोग गर्दै उनीहरूको सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उपाध्यक्ष महजबी खातुनले साना साना व्यवसायहरू सञ्चालन गरेर महिलाहरू उद्यमशीलतातर्फ अग्रसर भएकोमा खुशी व्यक्त गर्नुभयो।

संस्थाका उपाध्यक्ष फुलमाया घिसिङले एकडारा गाउँपालिकामा ४०४ अति विपन्न घरधुरीलाई विभिन्न प्रकारका सीप, तालिम तथा व्यवसायिक सहयोग प्रदान गरिरहेको जानकारी दिनुभयो। संस्थाका व्यवस्थापक कुमार भण्डारीका अनुसार परियोजना मोडल अनुसार सामाजिक सुरक्षा, वित्तीय समावेशीकरण, सामाजिक सशक्तिकरण र जीविकोपार्जन प्रवर्द्धन गरी ५२ घरधुरीलाई आत्मनिर्भर बनाउने लक्ष्य प्राप्त गर्न सफल भएको छ।
कार्यक्रममा एकडारा गाउँपालिका वडा नं. ५ का अध्यक्ष सेराजुद्धिन अन्सारी लगायत अन्य व्यक्तित्वहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा व्यवसायमा सक्रिय भई ग्राजुएसन हुन सफल ५२ जनामध्ये ६ जनालाई उत्कृष्ट व्यवसायी (च्याम्पियन) का रूपमा सम्मान गरिएको थियो। कस्मेटिक्स व्यवसाय सञ्चालन गरिरहेकी एकडारा गाउँपालिका वडा नं. ४, हलखोरीकी ममता साहले संस्थाले दिएको तालिम र सहयोगले आफ्नो परिवारको खर्च धान्न सक्षम बनाएको अनुभव सुनाउनुभयो।