विद्युत् प्रसारणको क्षमता सकिँदै… सानो गल्तीले देशै अन्धकारमा!’ – शाक्य

Share
Rate this News

२ जेठ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् उत्पादनमा वृद्धि भइरहे पनि सोही अनुपातमा प्रसारण लाइन सञ्जाल विस्तार नहुँदा आपूर्ति प्रभावित भइरहेको बताएका छन्।

शुक्रबार स्युचाटार सबस्टेसनमा आयोजित पत्रकार सम्मेलनमा उनले कमजोर पूर्वाधार, उपकरण र नेटवर्कका कारण सानो घटनाले पनि ठूलो असर पारिरहेको जनाए। “हिजो रातिको घटनामा दुई घण्टा बढी कन्ट्रोल रुममै बसेर समस्या अवलोकन गरें,” उनले भने, “अबका दिनमा प्रणाली सुधारमा थप गति दिनेछौं।”

शाक्यका अनुसार प्रसारण लाइनहरूको क्षमता सिमित हुँदा धेरै ठाउँमा ट्रिपिङको समस्या देखिएको छ। बालाजु, स्युचाटार तथा ढल्केबर–चन्द्रनिगाहपुर–पथलैया लाइनमा ओभरलोड हुँदा बाध्य भएर आपूर्ति रोक्नुपर्ने अवस्था आएको उनले बताए।

“हामी अहिले विक लिंकको अवस्थामा पुगेका छौं,” शाक्यले भने, “जहाँ–जहाँ कमजोर प्रणाली छ, त्यहाँ–त्यहाँ ट्रिप हुने सम्भावना उच्च छ। यसलाई तत्काल सम्बोधन नगरे ठूलो दुर्घटना निम्तन सक्छ।”

उनले प्रसारण प्रणालीको तीव्र विस्तार नभए भविष्यमा बढी विद्युत् उत्पादन हुँदा पनि वितरणमा समस्या आउने चेतावनी दिए। “वर्षामा पर्याप्त उत्पादन हुँदा पनि प्रसारणको अभावमा लोडसेडिङ हुने स्थिति आउँछ,” शाक्यले बताए, “त्यसैले आपूर्ति सन्तुलनका लागि अब प्रसारण पूर्वाधारको मजबुतीकरणमा जोड दिइनेछ।”

प्राधिकरणले आगामी दिनमा प्रणाली सुधार र प्रसारण सञ्जाल विस्तारमा प्राथमिकता दिने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *