अमेरिकामा एकै नेपाली परिवारका ४ जनाको शव फेला, गोली प्रहारबाट मृत्यु भएको आशंका

Share
Rate this News

एजेन्सी – भर्जिनिया, अमेरिका।

अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससपार्क सिटीमा एकै नेपाली परिवारका चार सदस्य मृत अवस्थामा फेला परेका छन्।

मनाससपार्क प्रहरी विभागका अनुसार उनीहरू आफूहरू भाडामा बस्दै आएको अपार्टमेन्टको तल्लो तलाबाट शव अवस्थामा फेला परेका हुन्।

मृत्यु हुनेमा ३८ वर्षीय सन्तोष परियार, ३६ वर्षीया अञ्जु श्रेष्ठ, उनीहरूको २ वर्षीय छोरा र ८ वर्षीया छोरी रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार चारै जनाको मृत्यु गोली लागेर भएको देखिएको छ। घटनास्थलमै हतियार फेला परेको बताइएको छ।

घटनाबारे स्थानीय समयअनुसार बिहीबार राति १०:४० बजे जानकारी प्राप्त भएको हो।

भाडामा बस्ने परिवारसँग सम्पर्क हुन नसकेको भन्दै घरधनीले प्रहरीलाई खबर गरेपछि, प्रहरी घटनास्थलमा पुग्दा सबै सदस्य मृत अवस्थामा भेटिएको हो।

हाल घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले यसलाई गंभीर घटनाका रूपमा लिएको जनाएको छ।

मृतक परिवारको स्थायी ठेगाना नेपालमा कहाँ हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *