
सर्लाही- नवलपुर | असार २१ प्रेमनाथ पौडेल Super Media Nepal
सर्लाही जिल्ला लालबन्दी–१, नवलपुरमा आर्थिक वर्ष २०८२/८३ का लागि वडास्तरीय योजना छनौट कार्यक्रम सम्पन्न भएको छ। वडाध्यक्ष हरि बहादुर भट्टराई (हरिहर)को अध्यक्षता र नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यमा नन्देश्वर महादेव मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, खेलकुद र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ।
कार्यक्रममा वडा–१ का लागि ७० लाख २१ हजार ५ सय रुपैयाँको बजेट सीमा भित्र रहेर योजनाहरू तय गरिने वडाले जनाएको छ। नगर प्रमुख अधिकारीले “विकास सबैको अधिकार हो, तर बजेट सीमित छ, त्यसैले अति आवश्यक योजनालाई प्राथमिकतामा राख्नुपर्छ,” भन्दै कुनै पनि योजनामा कमिसनको चलखेल सह्य नहुने र त्यस्तो भएमा कडाभन्दा कडा कारबाही हुने चेतावनी समेत दिए।

कार्यक्रममा नगर उपप्रमुख कल्पना माया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत बसन्त नेउपाने, वडा नं. १७ का अध्यक्ष विष्णु अधिकारी, जिल्ला ट्राफिक प्रहरी प्रमुख रजोश घिमिरे, एमाले नेता पूर्णबहादुर थापा ‘राजन’, माओवादी केन्द्रका नेता देव नारायण महतो, जनता माविका व्यवस्थापन समिति अध्यक्ष उमेश कुमार महतो, समाजसेवी पशुपति भण्डारी, कार्यपालिका सदस्य आशा कुमारी महतो, कृषि सहकारी प्रतिनिधि जितेन्द्र कुमार कुशवाहा, रामपरी क्षण महतो, असर्फी महतो लगायतले योजना छनौट र कार्यान्वयन प्रक्रियामा नागरिकको सहभागिता र चाहना समेटिनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले बैशाख महिनादेखि नै टोलटोलमा योजना संकलन गरेर वडा भेलाबाट प्राथमिकता निर्धारण गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।
कार्यक्रमको सञ्चालन वडा सचिव फौद सिंह स्याङ्बोले गरेका थिए भने स्वागत मन्तव्य वडा सदस्य अधोक कुमार महतोले राखेका थिए।