
काठमाण्डौ – सुपर मिडिया नेपाल
मनसुन प्रणाली पूर्वतर्फभन्दा पश्चिमतर्फ बढी सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा हाल तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर अवस्थित छ।
आज दिउँसो गण्डकीदेखि पश्चिमका प्रदेशहरूमा ठूलो वर्षा हुने सम्भावना छ। विशेषगरी गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले चेतावनी दिएको छ।
मधेश प्रदेशसहित देशका अन्य केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। राति गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै बागमती, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम बढ्ने, ठूला-साना नदीनाला तथा खोलामा पानीको सतह वृद्धि हुने, र यातायात सेवामा अवरोध आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।