
भाद्र ३०, नवलपुर
प्रेमनाथ पौडेल | Super Media Nepal
सर्लाहीको लालबन्दी–१, नवलपुरमा अवस्थित नन्देश्वर महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ।
संस्थाकी अध्यक्ष ओम कुमारी गौतमको अध्यक्षतामा नन्देश्वर महादेव मन्दिर परिसरमा सम्पन्न सभामा उपाध्यक्ष तारा देवी थपलियाले स्वागत मन्तव्य राखेकी थिइन्। सभामा संस्थाकी सचिव सुनिता बुढाथोकीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/८२ मा सहकारीले १४ करोड ३७ लाख २९ हजार २१ रुपैयाँको कारोबार गर्दै ३४ लाख ९० हजार २ सय १२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको जानकारी दिइन्।

यसअघि हरेक वर्ष उद्घाटन र समापन सत्र गरी सभा सम्पन्न गर्ने परम्परा रहँदै आएकोमा यसपटक भने उद्घाटन सत्र नगरी प्रत्यक्ष बन्द सत्रमार्फत सभा सम्पन्न गरिएको संस्था की व्यवस्थापक कविता कार्कीले बताइन्।
२०५९ साल साउन १४ गते सहकारी डिभिजन कार्यालयमा दर्ता भई आर्थिक कारोबार सुरु गरेको यस सहकारीमा हाल २,२८० जना महिला शेयर सदस्य रहेका छन्। संस्थाले १ करोड ३७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको शेयर पुँजी संकलन गरेको छ। आफ्नै भवनमार्फत कम्प्युटर सफ्टवेयरद्वारा सेवा प्रवाह गर्दै आएको यो सहकारी प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा परिचित छ।
सभामा सहभागी सदस्यहरूले महिला सहकारीलाई कर दायराबाट बाहिर राख्नुपर्ने र महिला नेतृत्वमा सञ्चालित सहकारीलाई विशेष सुविधा प्रदान गर्नुपर्ने माग राखेका थिए। कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष गंगा माया खडका, सदस्यहरू सुमित्रा देवी राम, बिमला मोक्तानलगायतले आफ्ना धारणा राखेका थिए। कार्यक्रम सञ्चालन संस्थाकी कोषाध्यक्ष बिणा थिङले गरेकी थिइन्।

संस्थाले सदस्यहरूको हितका लागि विभिन्न बचत योजना, सरल तथा सुलभ ऋण प्रवाह, तीज विशेष कार्यक्रम, वित्तीय साक्षरता, तीर्थाटन भ्रमण, रेमिटेन्स सेवा तथा विद्युतिय माध्यममार्फत रकम भुक्तानी सेवा सञ्चालन गर्दै आएको जानकारी दिइएको थियो।
नन्देश्वर महिला बचत तथा ऋण सहकारीले महिलालाई आत्मनिर्भर बनाउन र सहकारी आन्दोलनलाई सशक्त बनाउन उल्लेखनीय योगदान दिँदै आएको छ।