
सर्लाही, असोज १३ । Super Media Nepal
सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैया बजारस्थित काल्साङ छ्योई खोर्लिङ गुम्बामा बौद्ध धर्मावलम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् । गुम्बा र मणिपा आमा समूह बागमतीको संयुक्त आयोजनामा असोज १२ गतेदेखि सुरु भएको ब्रत असोज १५ गतेसम्म चल्नेछ ।

गुम्बाका अध्यक्ष पाल्देन दोर्जे लामाका अनुसार ब्रतको पहिलो दिन गुरुहरुबाट ब्रतको उद्देश्य र औचित्यका विषयमा प्रवचन गरिएको थियो भने आजदेखि लगातार तीन दिन मौन ब्रत बस्ने कार्यक्रम सुरु भएको हो ।

सर्लाही सहित काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, मकवानपुर, रौतहट, महोत्तरी, सिराहा लगायत विभिन्न जिल्लाबाट सयौं संख्यामा श्रद्धालु भक्तजन तथा करिब २५–३० जना लामा गुरुहरुको बाक्लो उपस्थिति रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
दशैंमा देवी–देवताका नाममा हुने पशु–पंक्षीको बलीको विरोध स्वरुप तथा ती निर्दोष जीवजन्तुको आत्माको शान्तिको कामनासहित बौद्ध धर्मावलम्बीहरुले मौन ब्रत (ञ्युङ्ने ब्रत) बस्ने परम्परा रहेको उहाँले बताउनुभयो ।

ब्रतका क्रममा लामा साङडुप दोर्जे लोपेन, लामा कर्म, लामा साम्तेन राबगे, लामा सेरब दोर्जे र लामा सेरबको नेतृत्वमा प्रवचन, आयु अभिषेक तथा बौद्ध धर्मका मुख्य ग्रन्थहरुको व्याख्या गरिने कार्यक्रम रहेको गुम्बाका सचिव चन्द्र बहादुर जिम्बाले जानकारी दिनुभयो ।
अहिंसा र शान्तिको प्रतीक भगवान बुद्धका अनुयायीहरुले विभिन्न धर्म, संस्कार र पर्वमा बलि दिइएका जीवजन्तुको आत्माको शान्ति र कल्याणको कामनासहित यो ब्रत बस्ने गर्दछन् । ञ्युङ्ने ब्रत असोज १५ गते वाङ अभिषेकसँगै सम्पन्न हुने गुम्बाले जनाएको छ ।